लगानीन्युज/काठमान्डौ :दोश्रो बजारमा अङ्क भविष्यवाणी गरेर ठ्याक्कै यति पुग्छ भन्ने न आज सम्म कुनै सफ्टवेर बनेको छ न कोही आज सम्म ज्योतिष नै जन्मेको छ।
तर,"कहीँ नभएको जात्रा हाडिगाउँमा" भने जस्तै केही लामो समय देखि नेपाली दोश्रो बजारमा नेप्से परिसूचकको भविष्यवाणी गर्ने क्रम निकै बढ्दै छ। यसरी अङ्कको भविष्यवाणी गर्नेमा प्राविधिक विश्लेषक धेरै छन् । ९००, ६०००, २५००, १२०० नेपाली दोश्रो बजारमा निकै हिट केही अङ्क हुन्। साहेद यी अङ्कको नामबाट चलचित्र बनाएको भए लगानीकर्ताले चलचित्रको ट्रेलर हेर्नु अघि नै चलचित्रका निर्माताको नाम सजिलै थाहा पाउँथे।
"बजार बुम हुन्छ र क्र्यास हुन्छ " भन्ने समूह पनि निकै ठुलो छ।
"बजार बुम हुन्छ र क्र्यास हुन्छ " भन्ने समूह पनि निकै ठुलो छ।
शेयर बजार घटबढ हुने प्रमुख कारण भनेको लगानीकर्ताको मनोविज्ञान हो र बारम्बार अनुमानलाई अङ्कमा जोडेर सामाजिक सञ्जाल देखि विभिन्न मिडियामा बोल्दै हिँड्दा लगानीकर्ताको मनोविज्ञानमा गहिरो असर पुगेको छ।
बजार घट्नु बढ्नु सामान्य प्रक्रिया हो। बजार ११७५ बाट २९२ आयो, २९२ बाट १८८१ पुग्यो अनि १८८१ बाट बजार फर्केर फेरी अहिले १२०० को वरिपरि छ। बजार घट्नका लागि बढ्छ र बजार बढ्नका लागि घट्छ।
शेयर बजार बुलिस प्रवृत्ति र बियरिस प्रवित्तिमा जाने भनेको विशुद्ध आधारभूत कुराले हो। प्राविधिक विश्लेषणले लगानीकर्ताको मनोविज्ञान अध्ययन गर्ने काम मात्र गर्दछ। दीर्घकालीन सोच भएका लगानीकर्ताले लागत र लाभांशमा विश्वास गर्छन् ।
अहिलेको अवस्थामा हाम्रो दोश्रो बजार वास्तविक सेपमा आउन सकेको छैन। बेला बेलामा आउने अङ्किय विश्लेषणले लगानीकर्ताको मनोविज्ञानमा नराम्रो असर पुगेको छ। पुराना लगानीकर्ता भन्दा पनि नयाँ लगानीकर्ताहरू यस किसिमको विश्लेषणको सिकार हुँदै आएका छन्।
अङ्किय विश्लेषकको विश्लेषणले बजारको चक्र नै उथलपुथल हुने चाहिँ होइन तर यस किसिमको प्रवृत्तिले नयाँ लगानीकर्तालाई असर पुग्छ। मिडिया देखि सामाजिक सञ्जालमा ९००को माहौल सिर्जना गराईदा नयाँ लगानीकर्ताहरूलाई बजार प्रति नै नराम्रो छाप बसी आफूसँग भएको राम्रो कम्पनीको शेयर कुनै आधिकारिक कारण बिना नै बेच्न पुग्छन भने २५०० र ६०००को माहौल सिर्जना गराईदा कम्पनीको आधारभूत अवस्था र जोखिम न्यूनीकरणका कुरा नै नहेरी अन्धाधुन्ध शेयर किन्न पनि पछि पर्दैनन् । यस्ता प्रवित्तिबाट कुनै ठुलो समूह सही समयमा बजार प्रवेश र बजारबाट बाहिरिन सहयोग गर्छ र त्यसको प्रत्यक्ष सिकारमा साना तथा नयाँ लगानीकर्ता नै पर्छन्।
अर्को कुरा नेप्से परिसूचकको भविस्यवाणी गर्न त्यति सजिलो छैन। बजार पूँजीकरणको आधारमा हाम्रो परिसूचक तल माथि गर्ने गर्दछ। जति जति ठुला कम्पनीहरू पूँजी बजारमा आउँछन् त्यति नै नेप्से परिसूचकमा सकारात्मक छाप पर्छ भने ठुलो पूँजीकरण भएका कम्पनीहरूले दोश्रो बजारमा नकारात्मक पर्दशन गर्दा समग्र नेप्से परिसूचकमा नकारात्मक प्रेसर पर्छ।
शेयर बजार भनेको खोला हो। शेयर बजारलाई कसैलेपनि आफ्नो मुठीमा राख्न सक्दैन। होला कुनै समूहले केही समय अप्राकृतिक हिसाबमा ड्याम बाँधेर पानी रोक्न खोज्ला, वरीपरीको साना साना गाउँ डुबाउन सफल होला तर सधैँ उसले पानी थुनेर राख्न सक्दैन। पानी अन्त्यमा आफ्नो बाटो लागेरै छोड्छ। त्यस्तै दीर्घकालीन हेर्दा शेयर बजारलाई कसैले पनि आफ्नो हिसाबमा चलाउन सक्दैन।
नयाँ लगानीकर्ताले आफ्नो अध्ययन वृद्धि गर्नु पर्ने देखियो। सबैको कुरा सुन्नु पर्यो तर निर्णय भने आफै लिनु पर्यो। दोस्रो बजारमा आफ्नो अध्ययन नपुग्दा सम्म थोरै थोरै पुँजीबाट लगानी गरेर बजारमा अभ्यस्त भएपछि मात्र ठुलो पुँजी लगानी गर्नु पर्छ। सकेसम्म आफ्नो सम्पत्तीको मुल्यांकन गर्ने जिम्मा अरुलाई नदिदै राम्रो।
सम्पादक