लगानीन्युज/काठमान्डौ: लगानीकर्ताले निकै पर्खिएको अनलाईन कारोबार प्रणाली मङ्गलवार तिहार बिदाको एक दिन अघि अर्थमन्त्रीको हातबाट तारे होटलमा उद्घाटन गर्दै १४ वर्ष पुरानो कारोबार प्रणालीलाई विस्थापित भएको थियो । अन्य देशका दोस्रो बजार पूर्ण रुपमा स्वचालित कारोबार प्रणालीमा जोडिएपनि हामी भर्खरै सुरुवात गर्दै छौ ।
राजधानी त्यसमापनि अनामनगर, पुतलीसडकमा सीमित हाम्रो दोस्रो बजारलाई देशव्यापी बनाउन अनलाईन कारोबार प्रणाली एउटा सुरुवात हुने विश्वास सबै लगानीकर्ता र सरोकारवालाले लागेका छन् ।
अनलाईन कारोबार प्रणाली बनाउन नेप्सेले निकै लामो समय लिएको तथ्य हामीसंग छ । केही लामो समय देखि नै अनलाईन ल्याउने समय सार्दै आएकोमा धेरैले नेप्सेको "हरिबहादुर पारा" भन्दै आएको अवस्था थियो । अनन्त निकै लामो समयको पर्खाई पछि नेप्सेले मङ्गलवार एउटा तारे होटेलमा अर्थमन्त्रीलाई राखेर अन्लाईन कारोबार प्रणालीको सुरुवात गर्यो ।
खुशी एक छिन मात्र
"ओपन क्राई" बाट सुरु भएको हाम्रो दोश्रोबजार आज भन्दा करिब १४ वर्ष अघि कम्प्युटरमा जोडिएको थियो । मङ्गलवार धेरै लगानीकर्ताहरूको खुशीको सीमा नै थिएन। धेरै लगानीकर्ताले सामाजिक सञ्जालमा बधाई दिएर नयाँ युगको सुरुवात भनेर लेख्न पछि हटेनन् तर उता नेप्सेको नयाँ प्रणालीले भने पहिलो दिन निकै धोका दियो ।
लगानीकर्ताले नेप्सेको वेबसाइटमा कारोबार विवरण हेर्न मिल्ने अवस्था थिएन । ब्रोकर कार्यालयको हालत पनि त्यस्तै थियो । "डिस्प्ले स्क्रीन"मा देखिएको तथ्याङ्क त्यति तालमेल खाने थिएन । कम्पनीको बजार मूल्य कुन दिनको आधारमा कारोबार गरियो , नेप्से परिसूचक कुन दिनको आधारमा आजको परिसूचक देखाइयो त्यसमा कुनै आधिकारिकता लगानीकर्ताले पाउन सकेनन् । दिउँसो १ बजे सम्म ५ लाख बराबरको शेयर किन बेच भएको तथ्याङ्क ब्रोकरको "विन्डो"मा देखिएपनि त्यसपछि कति रकम बराबरको शेयर कारोबार भयो कसैले थाहा पाउन सकेनन ।
लगानीकर्ता मात्र नभएर ब्रोकर-ब्रोकरहरुनै के भइरहेको छ अलमलमा परेका थिए । कोही ब्रोकर अफिसमा कारोबार भएको र केहीमा कारोबार गर्न समस्या भएको कुरा पनि लगानीकर्ताको मुख बाट सुनिन्थ्यो ।
लगानीकर्ताहरू कोही नेप्सेलाई गाली गर्दै थिए भने कोही नयाँ प्रविधिको मजाक गर्दै थिए । केही लगानीकर्ताहरू भने एकै दिनमा सबै कुरा सम्भव छैन बिस्तारै हुन्छ भनेर आशावादी थिए ।
नेप्से गणनामा गम्भीर त्रुटि :
यता नेप्से परिसूचक गणनामा गम्भीर त्रुटि देखिएको छ । सोमबार नेप्से परिसूचक १२१९ दशमलव २० को बिन्दुमा बन्द भएको थियो । त्यसपछि मंगलबार नेप्से परिसूचक दिउँसा १ बजे हेर्दा १२१२को विन्दु देखाएको थियो तर परिसूचक घट्नु पर्नेमा परिसूचक ० दशमलव ८० प्रतिशत वृद्धि भएको देखिएको थियो ।
दोश्रो बजार जस्तो संवेदनशील वस्तुमा यस्तो गैरजिम्मेवारी पन किन ?
नयाँ प्रविधि आउँदा समस्याहरू आउनु स्वाभाविक हो तर पहिलो दिनको कारोबार प्रणाली हेर्दा कारोबार प्रणालीको त्रुटिको सङ्ख्या निकै धेरै देखियो । प्रणालीलाई अर्थमन्त्रीको हातबाट उद्घाटन गर्नु अघि नेप्सेले किन एक पटक पनि सोचेन ? दोस्रो बजारमा एक एक रुपैयाँको पनि ठुलो महत्त्व हुनेमा नेप्सेले दिन भरको बजारलाई अँध्यारोमा परिणत गरायो। नेपाली लगानीकर्ताले यतिका समय त कुरे अब केही दिन ढिलो गरी पूर्ण रुपमा "टेस्ट" गरेर सिस्टम ल्याउनु पर्नेमा नेप्सेले हतार गर्यो। यसरी नयाँ सिस्टमको नाममा पूर्ण तयारी बिना नै नेप्सेले नयाँ प्रणाली ल्याएको प्रस्ट देखिन्छ।
किन दुई सिस्टमलाई "प्यारलल" नलगेको ?
पुरानो सिस्टम र अनलाईन कारोबार प्रणालीलाई केही समय कालागि "प्यारलाल" लगिनु पर्थ्यो । उदाहरणका लागि पहिलो दिन ब्रोकरहरुले नयाँ प्रणालीमा समस्या देखेको भए पुरानै प्रणालीबाट कारोबार गर्थे। जुन प्रकारको अन्योलमा पहिलो दिन बजार बन्द भयो त्यो हुँदैन थियो । नेप्से "ओभर कन्फीडेण्ट" देखियो ।
लगानीकर्ताले आज स्वीकारे भोलि होइन
धेरै लगानीकर्ताहरूले नयाँ प्रविधि हो भनेर केही बोलेनन । १०० मा एक-दुई जना आक्रोषित भएपनि धेरैले जन्मेको बच्चा हो यसलाई अहिले नै गाली नगरौँ पनि भने तर यो धेरै दिन टिक्दैन । दिन-दिनै यस्तै समस्या आयो भने पक्कैपनि लगानीकर्ताहरू नेप्सेलाई माफ दिने छैनन् । " १८-१९ करोडको प्रणाली त्यो पनि यति समय लगाएर बनाएको ? यस्तो नि हुन्छ ?" जस्ता अभिव्यक्ति आउन थालिसकेका छन्। भोलिका दिनमा नेप्सेले निकै ठुलो आलोचना र "प्रेसर" खेप्नु पर्ने छ ।
अहिलेको प्रणाली पूर्ण स्वचालित नै हो ?
पूर्ण स्वचालित अन्लाईन प्रणाली दाबी गरिए पनि अहिलेको प्रणाली पूर्ण स्वचालित होइन । जब सम्म शेयर खरिद पछि आफ्नो खाताबाट सिधै पैसा कट्दैन र शेयर बेचेपछि सिधै पैसा तपाईँको खातामा देखिँदैन तब सम्म अनलाईन प्रणालीलाई पूर्ण स्वचालित भन्न मिल्दैन । पूर्ण स्वचालित प्रणालीमा सबै प्रकारका राफसाफ एकै ठाउँमा हुनुपर्छ ।
आधिकारिक भनाई खोइ ?
अनलाईन प्रणाली आएको पहिलो दिन शेयर बजार अन्धकारमै बित्यो । किन समस्या आयो ? बजारमा के के भयो ? भन्ने विषयमा नेप्सेबाट आधिकारिक अभिव्यक्ति आउन नसक्नुलाई नेप्सेको अलिकता गैर जिम्मेवारीपन भन्दा फरक नपर्ला ।
अब एकै पटक आइतबार दोश्रो बजार खुल्दै छ । नयाँ सिस्टममा देखिएका समस्याहरू जतिसक्दो छिटो मिलाएर आइतबार देखि बजार पारदर्शी हिसाबमा सुचनाको पहुँच सहित चल्ने व्यवस्था हुनु पर्दछ । यदि अहिलेको नयाँ प्रणालीमा समस्या छन् भने भने दुईवटा सिस्टमलाई "प्यारलल" हिसाबले लगिनु पर्दछ ।
अन्त्यमा अनलाईन प्रणाली सफल रहोस् र नेपाली पुँजी बजार देशै भरी विस्तार होस भन्दै बधाई तथा शुभकामना।