युवापुस्ता र मोबाइल - Lagani News

Post Top Ad

Thursday, November 1, 2018

युवापुस्ता र मोबाइल

· सरोज रिजाल


आमसञ्चारको विकासले विश्वलाई यति साँघुरो बनाइदिएको छ कि विश्वको जुनसुकै भागमा घटेका ताजा र नयाँ घटनालाई क्षणभरमै थाहा पाउन सम्भव पारिदिएको छ । सञ्चार माध्यमको विकासले सुचना आदान प्रदानको प्रकृयालाई सरल, झन्झटरहित मात्र बनाइदिइको छैन, यसले मानिसको व्यक्तित्व विकासमा पनि सहयोग पु¥याउदै आएको पाइन्छ ।


विज्ञान बरदान हो यदि यसलाई सही सदुपयोग गरिन्छ भने तर यही विज्ञानलाई दुरपयोग गरियो भने अभिशाप पनि बन्न सक्छ ।

प्राचिन कालमा पनि सुचना आदान प्रदान हुनेगथ्र्यो तर त्यसबेला ढोल बजाएर वा परेवाको खुट्टामा पत्र बाँदेर वा कसैलाई भरिया बनाएर एक ठाँउको सुचना अर्को ठाँउसम्म पु¥याउने गरिन्थ्यो । समयको चक्रसगैं सञ्चारको विकास पनि जारी रह्यो । विकासक्रममा सुचना प्रवाह गर्ने माध्यम रेडियो, टि.भी., इन्टरनेट, अनलाइन हुदैं आज मोबाइल इन्टरनेट मार्फत मोबाइल संचारमा विकसित भइसकेको छ । पलपलमा घटेका नयाँ जानकारीलाई इन्टरनेटको सञ्जालबाट तुरून्तै प्राप्त गर्न सक्षम बनेका छौं । त्यतिमात्र होइन उक्त घटना माथिको प्रत्यक्ष सकारात्मक वा नकारात्मक प्रतिक्रिया थाहा पाई तुरून्तै उक्त घटना र प्रतिक्रियामा आफ्नो धारणा सबैमाझ राख्ने अवस्थाको सृजना गरिदिएको छ ।

आधुनिक समाजको विकाससँगै आएका विभिन्न सुचना र सञ्चार उपकरण मध्येको एक लोकप्रिय र अत्यन्तै उपयोगी र अहिलेको अपरिहार्य बस्तुको रुपमा रहेको मोबाइल फोनको प्रयोगसँगै यसका चुनौतीहरु पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । आज मानिसलाई मोबाइलले यति सरल जीवन जिउन सम्भव तुल्याइदिएको छ कि हामी एक ठाँउमै बसी–बसी अर्को ठाँउको दैनिक कार्यहरु सुचना आदन प्रदान गरेर गर्न सक्षम बनेका छौं । त्यतिमात्र होइन यहीं सुचना आदान प्रदानको निरन्तरताले मानिसको पारिवारिक, सामाजिक सम्बन्धलाई सुमधुर बनाइदिएको छ । विज्ञान बरदान हो यदि यसलाई सही सदुपयोग गरिन्छ भने तर यही विज्ञानलाई दुरपयोग गरियो भने अभिशाप पनि बन्न सक्छ । सर्वप्रथम त आमसञ्चार भनेको बुझ्न जरुरी छ । हामीले कुनै सुचना वा सन्देशलाई एक ठाँउबाट अर्को ठाँउसम्म संप्रेषण गर्ने माध्यम नै आमसञ्चार हो ।



यसका विभिन्न माध्यम वा प्रकार हुनसक्छन् । हामीले सुचना आदान प्रदान गर्ने पछिल्लो विकास, सरल र सबैको पहुँचमा रहेको मोबाइल फोन र यसलाई मुख्यतय युवापुस्ताले प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा बहस गर्नुपर्ने आजको आवश्यकता भइसकेको छ । युवावर्गले अहिलेको यस विकसित प्रविधिको सही सदुपयोग गरी सृजनात्मक कार्यमा लाग्नुपर्ने हो तर त्यो हुन सकिरहेको छैन । युवावर्गले मोबाइलको प्रयोग आवश्यक कार्यमा भन्दा पनि अनावश्यक प्रयोजनमा बढी प्रयोग गरेको पाइन्छ । जुन प्रयोजन र उद्देश्यका लागि मोबाइलको विकास भएको हो त्यसको सही उपयोग नभएकै कारण हाम्रो समाजमा विभिन्न विकृति र अपराधजन्य गतिविधिमा वृद्धि हुँदै गइरहेको पाइन्छ ।


युवापुस्ता देश निर्माणको सक्षम पहरेदार हो । जुनसुकै परिवर्तनको मुख्य हिस्सेदारी युवा हुने र मुख्य जिम्मेवारी पनि काँधमा हुने भएकाले सचेत भएर सकारात्मक र सृजनशिल कार्यमा लाग्नु अत्यन्त आवश्यक भइसकेको छ ।

आजका युवा पुस्ताले आवश्यकतामा भन्दा पनि अरुको देखासिकीमा र अनावश्यक कार्यमा मोबाइलको प्रयोग गरेको पाइन्छ । मोबाइल यस्तो सञ्चार उपकरण हो जसलाई सही सदुपयोग गरेर आफ्नो दैनिक गतिविधिलाई सुचना आदान प्रदान गरी सरल र छिटो सम्पन्न गर्न सक्छौं । यसको मुख्य भुमिका भनेको नै छिटो सुचना एक ठाँउ बाट अर्को ठाँउसम्म पु¥याउनु हो । आज विभिन्न मोबाइल कम्पनीले मोबाइललाई वाक सन्देश प्रवाहको माध्यमका रुपमा मात्र सिमित गरेका छैनन् । यसलाई त मिनि ल्यापटपका रुपमा विकास गर्न सफल भइसकेका छन् । साथै मोबाइल प्रदायक कम्पनीले पनि इन्टरनेटको सुविधा मोबाइलबाटै लिनसक्ने प्रविधिको विकास गरेको पाइन्छ । यो विकासले प्रत्यक्ष रुपमा हामीलाई छिटो र ताजा विश्वको पलपलको नयाँ घटनाको जानकारी लिन सक्षम बनाएको छ । मोबाइल फोनकै माध्यमबाट मानिसले धेरै टाढाको व्यक्तिलाई साथी बनाएर आफ्नो जीवनसाथीसम्म बनाउन सफल भएका छन् । घटनाको तथ्य र सत्य जानकारी लिएर त्यसको असर र फाइदा बुझी आफ्नो जीवनमा सकारात्मक परिवर्तन गर्न सक्षम बनाउन सहयोगी माध्यम पनि हो यो ।


कुनैपनि वस्तुको सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि जोडिएर आएको हुन्छ । अहिले युवापुस्ताले मोबाइल प्रयोग पनि गलत रुपमा गरिरहेको आभाष हुन थालेको छ । मोबाइललाई नयाँ र अपरिचित साथी खोजी गरी उनीहरुसँग सम्बन्ध स्थापित गर्ने मुख्य उद्देश्यकासाथ प्रयोग हुँदै आएको पाइन्छ । त्यतिमात्र होइन क्षणिक मित्रताको बाहनामा यौनजन्य गतिविधिलाई निरन्तरता प्रदान गर्न यसको प्रयोग अहिले धेरै हुँदै आएको पाइन्छ । साथै यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यौन व्यवसायलाई सहज बनाउन पनि मुख्य भुमिका निर्वाह गरेको छ । मोबाइलको अत्यधिक प्रयोगले मानिसलाई एकहोरो र चेतनहिन बनाउदैं लगिरहेको छ । त्यस्तै अहिले समाजमा घटिरहेका विभिन्न अपराधिक घटनाको मुख्य योजनाको संवाहक नै मोबाइल बन्न पुगेको छ । अपहरण, लुटपाट, हत्या र कुनै ठाँउको आक्रमणको योजनामा मोवाइलको अत्याधिक प्रयोग भएको पाइन्छ । मोबाइल सेवा प्रदायक कम्पनीले होडबाजीको रुपमा सहज तरिकाबाट सिम उपलब्ध गराउने गर्दा एउटै व्यक्तिले धेरै सिमको प्रयोग गरी अपहरण र धेरै जनाको हत्यामा सहायक भुमिका खेलेको पनि प्रशस्तै घटना सार्वजनिक भइसकेको छ । संख्यात्मक रुपमा ग्राहक बढाउने तर गुणस्तरमा कुनै सुधार नगर्ने अभिप्रायका कारण पनि अपराधिक घटनाको वृद्धि भइरहेको छ । विभिन्न सोसियल नेटवर्किङ्ग सइटहरुले सर्वसुलभ तरिकाबाट आफन्त तथा साथीभाइलाई एक अर्काबीच निरन्तर सम्पर्कमा रहन गरेको सुविधाको दुरपयोग गरी युवाहरुले त्यस नेटवर्किङ्ग साइटकै उद्देश्यलाई नजरअन्दाज गरिरहेको पाउन सक्छौं । युवाले मोबाइल फोनमै इन्टरनेटको सुविधा पाएकाले यसको गलत प्रयोग गरी यौनजन्य सामाग्रीको प्रचार प्रसार गरी विभिन्न व्यक्तिको चरित्रहत्या गर्नेसम्मका काम पनि भइरहेको पाइन्छ ।

तसर्थ, युवापुस्ता देश निर्माणको सक्षम पहरेदार हो । जुनसुकै परिवर्तनको मुख्य हिस्सेदारी युवा हुने र मुख्य जिम्मेवारी पनि काँधमा हुने भएकाले सचेत भएर सकारात्मक र सृजनशिल कार्यमा लाग्नु अत्यन्त आवश्यक भइसकेको छ । त्यसैले अहिलेको यस सुचना र सञ्चार प्रविधिको विकासलाई सही ढंगले उपयोग गरी त्यसबाट अधिकतम फाइदा लिनु नै युवापुस्ताको लागि हितकर हुन पुग्छ । तसर्थ हामीले विज्ञानको वरदानलाई अभिशाप बन्न दिनु हुदैंन बरु सही उपयोग गरी यसबाट हामी आफू सचेत भएर समाज, राष्ट्र र विश्वलाई नै सबल हुनतर्फ अभिप्रेरित गर्नु आवश्यक छ । त्यसैले सधैं सकारात्मक पक्षमा रहेर त्यसको संरक्षण र द्रिघकालिन हित हुने गरी सुचनाको हकको सही सदुपयोग गर्नु नै हितकर हुन पुग्छ । युवापुस्ताको अभिन्न अंगझै बन्न पुगेको मोबाइल र मोबाइल इन्टरनेटबाट सही ज्ञान वृद्धिको लागि प्रयोग गर्नु अति आवश्यक छ र सबै त्यसतर्फ लाग्नु नै समाज र देशको हित हुन पुग्छ ।

Pages