"बालबालिकामा वित्तीय शिक्षाको आवश्यकता", माधवी लामिछानेको लेख - Lagani News

Post Top Ad

Thursday, August 20, 2020

"बालबालिकामा वित्तीय शिक्षाको आवश्यकता", माधवी लामिछानेको लेख


✐माधवी लामिछाने

समाज र पैसाको सम्बन्ध निकै अनौठो छ, पैसा बिना सामाजिक व्यवहार नचल्ने तर पैसाको चर्चा सामाजिक रुपमा गर्न नमिल्ने । समाजमा व्यक्तिगत वित्तीय मामलाको कुरा गर्न बिल्कुल निषेध नै छ । आम जनमानसमा पैसाको मामला र धारणा नितान्त निजी र व्यक्तिगत मानिन्छ । आखिर किन त कोही कसैलाई पनि तपाईंको तलब कति छ ? व्यक्तिगत ऋण कति छ ? अथवा निवृत्तिभरण कति छ ? भनेर हामी सजिलै सोध्न सक्दैनौ । 

Why talking about money is a taboo?

ठीक यस्तै हक बालबालिकामा पनि लागू हुँदै आएको पाइन्छ । हामी बालबालिकाहरुसँग सामाजिक, धार्मिक, राजनीतिक, यौन-शिक्षा, लैङ्गिक समानता आदिको बारेमा छलफल/प्रश्नोत्तर/बहस/वादविवाद चलाउँछौं । तर हामीमध्ये कतिका बालबालिकाहरु आ-आफ्ना आर्थिक र वित्तीय पक्षसँग जानकार होलान् ? कतिका बालबालिकालाई आफ्नो घरको मोटामोटी आम्दानी,  खर्च, बचत, लगानी आदिको बारे जानकारी होला त ? (स्मरणीय होस् यसको मतलब बालबालिकाहरुको कलिलो मस्तिष्कमा आर्थिक तनाव पैदा हुने वातावरण सृजना गर्ने भन्ने होइन) बरु भविष्यको निम्ति बालबालिकाहरुलाई आर्थिक उद्देश्यको बाटो पहिल्याउन मद्दत गर्नुहोस् । भविष्यमा आउन सक्ने आर्थिक दायित्व, आर्थिक जोखिम, आर्थिक संकट र आर्थिक मौकाहरू प्रति सचेत र सजक रहन तयार  गर्नु हो । सानैदेखि काम र परिश्रमको सम्मान पैदा गर्नु हो । 

प्रत्यक्ष वा अप्रत्यक्ष कमाइ के हो ? आम्दानी तथा संचित बचतको निरन्तर वृद्धि कसरी गर्ने ? काम गर्न किन जरुरी छ ? खर्च कसरी कटौती गर्न सकिन्छ ? बचत किन आवश्यक छ ? लगानी किन गरिन्छ ? भैपरी आउने खर्च के हो ? निवृतिभरण के हो ? आदि इत्यादिको ज्ञानले भविष्यमा बालबालिकाहरुको आर्थिक रुपमा स्वतन्त्र हुन सक्ने क्षमताको बृद्धि हुन्छ । 

बालबालिकाहरू प्राकृतिकरुपमा नै धैर्य गर्न नसक्ने किसिमका हुन्छन् । बचतले धैर्य गर्न सिकाउँछ । आफ्नो कमाईको सानो रकम बचत गर्ने, चाडपर्वहरुमा प्राप्त गरेको दक्षिणा बचत गर्ने बानी बसाल्नु पर्दछ ।

आफ्नो उमेर अनुरुपको काम पारिवारिक रेखदेखमा गर्न बालबालिकालाई सधैं उत्प्रेरित गर्नुपर्दछ । तर यो बाल श्रम शोषण चाहिँ पक्कै होइन । आफ्नो काम आफै गर्ने र घरायसी काम गर्न मदत गर्ने बानीको विकास सानैदेखि सुरुवात गर्नु पर्दछ । घरायसी काम सघाए वापत बेला मौकामा दिने सानो सानो रकमले उनीहरुमा काम गरेपछि मात्रै पैसा आउँछ भन्ने भावनाको विकास हुन्छ । 

बालबालिकाको उमेर अनुरूप घरायसी कामको कार्य विभाजन र कार्य तालिका बनाएर प्रत्येक हप्ता काम सघाए वापत दिइने सानो कमिसन अथवा सानो ज्यालाले कर्म प्रति विश्वास र गर्वको भावना पैदा हुन्छ । हुन त आफ्नो घरमा काम गरेवापत पनि पैसा दिन पर्छ र भन्ने भावना उब्जिन सक्छ तर यो एउटा सिकाइको प्रक्रिया मात्रै हो । यो प्रक्रियाले बालबालिकालाई सानैदेखि कामको महत्व र कामसँग पैसाको सम्बन्ध सिकाउछ । 

खर्चको सम्बन्धमा पनि बालबालिकामा अत्यावश्यक/जरुरी(needs) र इच्छा/चाहाना(wants) बिचको फरक र भिन्नता दिन सकेमा स्वस्थ खर्च गर्ने बानी विकास हुन्छ । यस्तै खर्च गर्दा आफ्नै सानो कमाइबाट नै खर्च गराउन लगाउने प्रवृत्तिले उनीहरुमा खर्च कम गर्नेको साथै आम्दानी र खर्चको सन्तुलन गर्ने सिकाइ प्रभावकारी बन्दछ । यस्तै ठूलाठूला खर्च तत्काल नगरी एक दुई/दिन सोच्ने समय लिँदा अनावश्यक आवेशमा आएर गरिने ठूला खर्चबाट बच्न सकिन्छ । यो वयस्क देखि बालबालिकासम्म लागु हुने कुरा हो । बजार भाउमा उचित मोल तोल र सम्झौता गर्नु पनि एक कला मानिन्छ । मोलतोल गर्ने कलाले पनि खर्च कटौती गर्न सहयोग गर्दछ । 

बालबालिकाहरू प्राकृतिकरुपमा नै धैर्य गर्न नसक्ने किसिमका हुन्छन् । बचतले धैर्य गर्न सिकाउँछ । आफ्नो कमाईको सानो रकम बचत गर्ने, चाडपर्वहरुमा प्राप्त गरेको दक्षिणा बचत गर्ने बानी बसाल्नु पर्दछ । बचत गर्नुको फाईदाहरु जस्तै: भैपरी आउने खर्च गर्न सजिलो, भविष्यका ठूलाठूला योजना, निवृत्ति खाता, ऋण र ब्याजको बारेमा मोटामोटी छलफल गर्नाले पनि बालबालिकामा बचत किन आजैबाट भन्ने प्रश्नको उत्तर मिल्छ । बचत गर्न खुत्रुके, बैंक खाता, प्रयोग गर्न सकिन्छ । सानो बालबालिकाको हकमा भने बचत गर्दा पारदर्शी भाँडा/डब्बामा (सिक्का भन्दा नोटको रुपैयाँ) पैसाको चाङ देख्दा उनीहरु बचत गर्न ज्यादा उत्साहित हुन्छन् । 

प्रत्येक व्यक्तिको आफ्नो निजी/ व्यक्तिगत बजेट हुन्छ । प्रत्येक घरको आफ्नो घरायसी बजेट हुन्छ । बजेटको सहायतामा हामी श्रोत र साधनको उचित प्रयोग भए नभएको नाप-जाँच गर्न सक्छौं,आम्दानी र खर्चको स्वस्थ सन्तुलन बनाउन सक्छौं । अनावश्यक भइरहेको खर्च कटौती गर्न सक्छौं । यसरी घरायसी बजेट बनाउँदा बालबालिकालाई पनि समावेश गर्नाले बालबालिकालाई श्रोत र साधनको उचित बाँडफाँट सम्बन्धी ज्ञान हासिल हुन्छ । बालबालिकालाई बजेटमा सामेल गराउँदा बच्चाहरूको नाजायज मागहरु स्वत कम हुँदै जान्छ किनकी बालबालिकाहरुले व्यवहारिक रुपले श्रोत-साधनको बाँडफाँट गरेको देख्छन् र बुझ्छन् । 

बालबालिकाहरुलाई उमेर अनुरुप लगानी सम्बन्धी शिक्षा दिनु पनि ज्यादै महत्वपूर्ण हुन्छ । लगानी सम्बन्धी आधारभुत शिक्षा हामीले सानैदेखि सुरु गर्न सक्छौं । कुनै पनि कम्पनीको नाफा, घाटा, जोखिम आदिको बारेमा बताउन सक्छौं, त्यस्तै आफूले लगानी गरेको एक दुई वटा कम्पनीको बारेमा किन लगानी गरेको कुरा बताउन सक्छौं । 

विभिन्न अध्ययनहरूले देखाएअनुसार बालबालिकाहरुमा ६/७ वर्षको उमेरदेखि पैसासँगको आफ्नो बानी विकास हुन थाल्छ र अध्ययनहरुले यो पनि देखाएको छ कि पहिलो आर्थिक सिकाइ आफ्नो अभिभावकबाट प्राप्त गर्छन् । पैसाको सन्दर्भमा बालबालिकाले आफ्नो अभिभावकलाई नजिकबाट नियालिरहेका हुन्छन् । चाहे तपाईं बालबच्चाको अगाडि आफ्नो आर्थिक पाटो देखाउनुस् या नदेखाउनु ! त्यसैले घरको स्वस्थ आम्दानी, खर्च, बचत प्रणालीले बालबालिकाहरुमा आर्थिक बाल मनोवैज्ञानिक विकासमा अप्रत्यक्ष/प्रत्यक्ष प्रभाव पार्छ । अबको समाजमा वित्तीय साक्षरतालाई पनि आधारभूत विषयको रुपमा कक्षाको पाठ्यक्रममा समावेश गर्न जरुरी छ । पैसा कमाउन भन्दा पनि त्यसको व्यवस्थापन निकै कठिन र चुनौतीपूर्ण हुन्छ । 

लेखको सम्पर्क इमेल : lamichhane.madhavi@gmail.com

Pages