विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको जोड - Lagani News

Post Top Ad

Thursday, January 25, 2024

विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको जोड



पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।


विद्युतीय चुलो राष्ट्रिय अभियानको पाँचौं वार्षिक उत्सवको अवसरमा ‘बढाऔं विद्युतीय चुल्होको प्रयोग, पुर्याऔँ  स्वास्थ्य सुधारमा सहयोग’ भन्ने सन्देशसहित विद्युतीय चुलोसम्बन्धी आज ललितपुरमा आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी छ भने । देशको समृद्धिको  आधार जलविद्युत् भएकाले अधिकभन्दा अधिक ऊर्जा उत्पादनलाई सरकारले जोड दिएको बताए ।


ऊर्जामन्त्रीले राष्ट्रिय चुलो अभियानलाई सफल बनाउन निजी क्षेत्रलाई पनि अनुदान र सहुलियत दिएर सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर र त्यसबाट कृषि क्षेत्रमा परेको प्रभावबारे सबै पक्ष गम्भीर हुनुपर्छ भने । 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी आर्थिक वर्षदेखि सुरुहुने १६औं आवधिक आयोजनामा विद्युतीय चुलोको प्रयोग बढाउँदै एलपी ग्यासको आयात प्रतिस्थापन गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताए ।


सामुदायिक विद्युत् राष्ट्रिय उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले २०७५ माघ ११ गते सुभारम्भ भएको यो अभियानलाई सफल र सार्थक बनाउन विभिन्न सङ्घसंस्थासँग मिलेर आफूहरुले काम गरिरहेको बताए ।



Pages