वार्षिक १० लाख कमाउँछन् तरकारीखेतीबाट दीपबहादुर - Lagani News

Post Top Ad

Thursday, January 18, 2024

वार्षिक १० लाख कमाउँछन् तरकारीखेतीबाट दीपबहादुर



चितवन । जिन्दगीको पचास वसन्त पार गर्दासम्म रत्ननगर–११ जिरौना चितवनका दीपबहादुर थापामगरलाई तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्नेमा ध्यान गएको थिएन । आफ्नो ऊर्जाशील समय परम्परागत शैलीमा खेती गर्दै जीवन निर्वाह गरेका मगरले आम्दानी गर्नका लागि धेरै काम गरे पनि यसअघि सन्तुष्टी नमिलेको बताए।


विसं २०३६ मा धादिङबाट चितवन झरेको मगरको परिवार यहाँ आएर धान र मकैखेती थालेका  थिए। परम्परागत खेतीबाट वर्षभरि खान र जसोतसो घरखर्च मात्र चल्ने गरेको मगरको भनाइ थियो । ‘छोराछोरी बढ्दै जान थालेपछि खर्च पनि बढ्न थाल्यो । परम्परागत खेतीबाट जीविकोपार्जन गर्न नसकिने लागेपछि घर वरपरका मानिसले व्यावसायिक तरकारीखेती गरेको देखेर आफू पनि यसप्रति आकर्षित भएको थिएँ’, उनले भने ।


विगत पाँच वर्षयता मगरले दुई बिघा क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गर्दै आएका छन । आफ्नो १० कठ्ठा र भाडाको डेढ बिघा जमिनमा उहाँले तरकारीखेती गरेका हुन्। उनले भने, ‘दुई बिघा क्षेत्रफलमा टमाटर सिमी, काँक्रो, करेला र लौकाको खेती गर्दै आएको छु । गाउँका अरु दाजुभाइ र तराईका जिल्लाबाट पनि यहाँ आएर भाडामा तरकारीखेती गरेको देखेर मैले पनि सुरु गरेको हो ।’ 


व्यावसायिक रूपमा तरकारीखेती गर्नका लागि कुनै तालिम नलिएको मगरको भनाइ छ । ‘भाटा बाँध्न, जाल बुन्न, डोरी बाँध्न, सिँचाइ गर्न, दबाई हाल्न, ड्याङ बनाउन अरुको हेरेर मैलै सिकेको हो । मैलै कुनै तालिम लिएको छैन आफँैले हेरेर सिकेको हो’, उनले भने।


भाडाको जग्गामा उनले वार्षिक प्रतिकठ्ठा ४ हजार रुपैयाँ  तिर्नुपर्छ । पाँच वर्षको अवधिमा उनले कुनै समय निकै राम्रो आम्दानी गर्नुभयो भने कुनै समय बराबरमा चित्त बुझाउनुपरेको बताए । उनले थपे, “परार सालमा राम्रो भाथ्यो लगभग डेढ बिघामा लगाएको तरकारीले १७ लाख रुपैयाँ आम्दानी भएको थियो ।’  


यस वर्ष मगरले सिमी र टमाटरमा ६ लाख लगानी गरेको बताए । भनेजस्तो भाउ पाएमा रू छ लाखको लगानीबाट  १५ लाखन रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने उनले जानकारी दिए । भाउमा एकरुपता नहँुदा आम्दानी निश्चित नुहने उनले गुनासो गरे। ‘तरकारीको भाउ निश्चित हुँदैन, दर घट्ने बढ्ने भइरहन्छ । कहिले ह्वात्तै घट्छ, कहिले बढ्छ । परार सालमा राम्रो भाउ परेको थियो र त्यही आम्दानीले घर बनाएँ ।’


तरकारीखेतीको आम्दानीले घर बनाउनेदेखि छोराछोरीको विवाह गर्ने र विदेश पठाउने काम गरेको मगरले बताए । ‘छोरा र छोरीको बिहे भयो । छोरा, बुहारी र ज्वाइँ विदेशमा छन् । छोरी पनि उतै जाने प्रक्रियामा छन्’, उनले भने, ‘छोरालाई यही केही गरौँ भनेको मानेन बाहिर गयो । हामी बूढाबूढी यही कुटो–कोदालो गरेर बसेका छौँ ।’ तरकारीखेती गरेर सन्तुष्ट भइरहँदा छोराछोरीलाई यही रोक्न नसकेकामा मगरलाई त्यती खुसी मिलेको छैन ।


उनलाई तरकारीखेती गर्न कामदारको अभाव छैन । नियमितजस्तै पाँच–छ जनालाई उनले रोजगारी दिए । निकै मेहनत गरेर उब्जाएको तरकारी बिक्री गर्ने बेलामा भाउ घट्दा मन खिन्न हुने मगरको भनाइ थियो । उनले भने, ‘राम्रो उत्पादन हुन्छ, दुःख गरेर उब्जाएको तरकारीको मूल्य नपाएर फाल्नुपर्दा साह्रै नमज्जा लाग्छ ।’


एक बिघा क्षेत्रफलमा टमाटरखेती गर्दा रू आठ लाखजति लगानी हुने र खर्च कटाएर १० लाखभन्दा बढी आम्दानी गर्न सकिने कृषक मगरले जानकारी दिए। क्रेटको ५ सय रुपैयाँ मात्रै भाउ भएमा टमाटरमा घाटा नपर्ने उनको भनाइ थियो ।


Pages