आजदेखि मेलम्चीको पानी काठमाडौँमा, पाँचौ पटक उद्घाटन तर पनि नियमित पानीको छैन टुंगो - Lagani News

Post Top Ad

Sunday, January 14, 2024

आजदेखि मेलम्चीको पानी काठमाडौँमा, पाँचौ पटक उद्घाटन तर पनि नियमित पानीको छैन टुंगो





काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । 


अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।  


प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थिए ।  प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो । 


बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो । कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ । 


विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ । 


एउटै आयोजना पाँचौ पटक उद्घाटन, नियमित पानीको टुंगो छैन

मेलम्ची खानेपानी आयोजना यसपटकको उद्घाटन पाँचौ पटक हो । २०७७ साल फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक आयोजना उद्घाटन गरेका थिए ।  त्यसको एक महिनापछि २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि धारा खोलेर उद्घाटन गरेकी थिइन् । त्यति मात्रै होइन, खानेपानी मन्त्री उमाकान्ती चौधरीले त आठ महिनामा दुई पटक एउटै आयोजना उद्घाटन गरे । २०७९ वैशाखमा उद्घाटन गरेपछि सोही वर्षको मंसिरमा खानेपानी मन्त्री उमाकान्त आयोजना उद्घाटन गरेका थिए । अहिले प्रधानमन्त्री दाहालले फेरि यो आयोजना उद्घाटन गर्दै छन् ।


लामो समयपछि मेलम्चीबाट काठमाडौँ आइपुगेको पानी पटकपटकका विभिन्न अवरोधका कारण नियमित हुन सकेको छैन । ममर्तसम्हारकै क्रममा केही श्रमिकले ज्यान समेत गुमाइसकेका छन् । तर अझै पनि नियमित पानी आउनेमा ढुक्क हुने अवस्था छैन । 


यद्यपि प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने दाबी गरेका छन् । सिंहदरबारमा आज आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको जिकिर गरे । 


उनले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे ।  काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उनले जोड दिए । 


“काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ”, उनले भने । 


 उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सैँ घण्टा उपभोक्ता सदस्यको धारामा वितरण गर्ने व्यवस्था मिलाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिए । 


“सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ”, प्रधानमन्त्री दाहालले भने ।  सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा दिलबहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने उनको भनाइ थियो ।


Pages