बैंकको नाफालाई मात्र हेर्दा नकारात्मक प्रचार बढी भयोः सिबिफिन अध्यक्ष उपेन्द्र पौडेलको अन्तर्वार्ता - Lagani News

Post Top Ad

Sunday, January 21, 2024

बैंकको नाफालाई मात्र हेर्दा नकारात्मक प्रचार बढी भयोः सिबिफिन अध्यक्ष उपेन्द्र पौडेलको अन्तर्वार्ता


 


नेपालको बैंकिङ क्षेत्रमा ३० वर्ष बिताएका उपेन्द्र पौडेल हालै मात्र बैंक तथा वित्तीय संस्था परिसंघ९सिबिफिन०को अध्यक्षमा चयन भएका छन् । व्यवसायिक बैंकिङ  क्षेत्रमा काम गर्दा नेपाल बैकर्स संघको अध्यक्षको रूपमा समेत काम गरेका पौडेल नबिल बैंकको अध्यक्ष हुँदै सिबिफिनको अध्यक्ष बनेका हुन् । उनीसँग नेपालको बैंकिङ क्षेत्रको अवस्थाको बारेमा लगानीन्यूजका लागि आशीष ज्ञवालीले गरेको कुराकानी 


३० वर्षको बैंकिङ  क्षेत्रको अनुभव छ । बैंकर हुँदै बैंक सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ ।  कर्मचारी र बैंकको अध्यक्षको भूमिकामा के फरक पाउनुभयो ?

पक्कै पनि फरक त भैहाल्छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा अन्य कुनै रूपमा जागिरेका रूपमा दैनिक रूपमा काममा खटिएका हुन्छौं । अध्यक्षका रूपमा बिगर पिक्चरका रूपमा हेरिन्छ । हुन त सीईओका रूपमा पनि त्यो नगरेको होइन तर अध्यक्षका रूपमा धेरै फरक पर्छ ।


 अध्यक्षका रूपमा सबै सरोकारवाला निकायको हितका लागि हेर्नुपर्ने रहेछ । बैंकको कम्प्लायन्स बढी हेर्नुपर्ने, सरोकारवालाहरूको रुचि र हितलाई संरक्षण गर्दै बैंकको स्वास्थ्य अवस्थालाई कसरी राम्रो बनाउने भन्नेमा बढी ध्यान दिनुपर्ने रहेछ । नियामकदेखि सरोकारवाला निकायको सबैलाई सन्तुलनमा राख्दै काम गर्नुपर्ने दायित्व पनि थपिएको छ । 


व्यावसायिक बैंकर हुँदा बैंकर संघ र सिबिफिनको पनि अध्यक्ष हुनुभयो । अहिले लगानीकर्ताको संस्थाको नेतृत्व गरिरहनुभएको छ । अहिले नेपालको बैंकिङ क्षेत्र कहाँ छ र कसरी लिनुभएको छ ?


नेपालको बैंकिङ क्षेत्र सामान्यताः राम्रै अवस्थामा छ । केही सीमित संस्थाका मात्रै पनि मुद्दाहरू हुन्छन् । त्यस्ता मुद्दालाई समयमै सम्बोधन गर्न नसक्दा त्यसले समग्र बैंकिङ क्षेत्रको समस्या बनेको अवस्था पनि छ । तर, समग्रमा बैंकिङ क्षेत्र उत्तदायी ढंगले नै चलिरहेको अवस्था छ । सन् १९८० को दशकदेखि जब बैंकको संख्या बढ्दै गयो । बैंकिङ सेवा पनि परिमार्जित गर्दै आएको छ । पहिले बैंकिङ सेवालाई सेवाका रूपमा नहेरी ‘फेबर’का रूपमा लिइन्थ्यो भने अहिले सेवाका रूपमा लिन थालिएको छ ।


 यस हिसाबमा प्याराडाइम सिफ्ट नै भइसकेको छ ।  पछिल्लो समय बैंकको संख्या बढेको अवस्थामा संख्यालाई लिएर पनि बहस हुन थालिसकेको छ । यद्यपि यस क्षेत्रमा अझै पनि केही ग्याप बाँकी नै छ । कम्पनी ऐनदेखि उपभोक्ताको अधिकारसम्म विषय अझै पनि जल्दाबल्दा मुद्दाका रूपमा छन् । नेपाल राष्ट्र बैंकले जारी गर्ने नियम, बैंकको आन्तरिक नियम, सेक्युरिटिजसम्बन्धी नियमनलगायत सबैलाई पालना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कोर बैंकिङको क्षेत्रमा राम्रोसँग अगाडि बढिरहेको अवस्थामा अन्य क्षेत्रमा केही कमी भएको महसुस भने हुने गरेको छ । 


हामीले सधैंभरि सेयरहोल्डरहरूको रुचि र हितलाई मात्रै केन्द्रमा राखेर काम गरेको अवस्था छ । तर, बैंकले समग्र समाजको हितका लागि काम गर्नुपर्ने अवस्था हुन्छ । बैंकले समग्र इको सिस्टमलाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ । बैंकिङ क्षेत्रले आजका दिनमा सबै नेपालीको सरोकारको क्षेत्र बनिसकेको अवस्थामा सबैको रुचि र हितलाई संरक्षण गर्न सक्नुपर्छ । कुनै समय विदेशी मुद्राको सञ्चिति कम भएर मुलुक समस्यामा पर्छ अवस्थामा बैंकहरूले मुलुकको हितका लागि काम गरेको अवस्था थियो । यसले व्यापारीलाई घाटा लागेको होला, बैंकको नाफा पनि घटेको होला । त्यसैले कुन समयमा कुन क्षेत्रको हितमा काम गर्नुपर्ने हो त्यहीअनुसार काम गर्नुपर्ने अवस्था छ । यसले सामाजिक प्रभाव कस्तो पार्छ भन्ने विषयलाई ध्यान दिँदै बैंकिङ क्षेत्र सञ्चालन हुनुपर्ने अवस्था छ ।




केही समययता बैंकले चर्को ब्याज लिए, अर्बौं रुपैयाँ कमाए भन्ने बहस सुनिन्छ । तर, प्रतिफल हेर्दा विगतमा १८ प्रतिशतसम्म भएकोमा अहिले निकै कम छ । त्यो विषय आमजनतामा बुझाउन नसकिएको होला ?


एकातिर बैंकहरूको संख्या बढ्यो भने त्यसपछि त्यो संख्यालाई घटाउनतर्फ लाग्यौ । हाम्रो अर्थतन्त्रको आकारअनुसार बैंकहरू धेरै भए भन्ने पहिले बहस गर्दथ्यौ । आज माइक्रोफाइनान्सको संख्या पनि अर्थतन्त्रको आकारको तुलनामा धेरै छ । अहिले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सलगायतले दिने सेवा एउटै छ । हाम्रो क्षमता बढ्यो तर हाम्रो अर्थतन्त्रको आकार भने बढ्न सकेन । यद्यपि बैंकको कर्जा प्रवाह बढिरहेको पनि छ तर त्यसले वास्तविक अर्थतन्त्र बढाउन सकेन । 


हाम्रो अर्थतन्त्रको संरचना आयातमा निर्भर भयो । सबै कुरा बाहिरबाट ल्याएर आवश्यका पूरा गर्नुपर्ने अवस्था आयो । जसले गर्दा बैंकिङ क्षेत्रको अधिक पैसा ट्रेडिङमा जान थाल्यो । फेरि ट्रेडिङ पनि उत्तिकै जरुरी छ । तर, बैंकबाट गएको कर्जाले वस्तु र सेवाको उत्पादन त भएन । एकातिर हाम्रो अर्थतन्त्र त बढ्यो तर प्रभाव भने देखिएन । पछिल्लो समय सबै क्षेत्र कमजोर हुँदै गए र बैंकमा भएको पैसामा जोखिम पनि बढ्न  थाल्यो ।


 हामीले बैंकको संख्या घटायौं, पुँजी पनि बढायौं तर पुँजी बढाएअनुसारको व्यवसायको आकार बढाउन सकिएको छैन । बैंकिङ सेवा सञ्चालन गर्दा केही संस्थाले उपभोक्ताको अधिकार नबुझेको कारणले हामी शुल्क बढी लिनेतर्फ पनि गयौं । बैंकको काम ब्याजदर लिने मात्रै नभई आम्दानीका अन्य स्रोत पनि हुन्छन् । यही अवस्थाले नियामकले केही नियम ल्याउनुपर्ने अवस्था पनि आयो । हाम्रो आवश्यकताभन्दा बढी क्षमता भयो जसले प्रतिस्पर्धा बढी भयो । जसले ब्याजदर घटाउने,  शुल्क पनि घटाउँदै जाँदा जोखिम पनि बढ्ने अवस्था आयो र अहिले त्यसको नतिजा देखिएको छ ।


 पाँच वर्ष अगाडिसम्म बैंकका लगानीकर्ताले गोल्डेन प्रतिफल पाउने अवस्था थियो । के यहीँ कारणले प्रतिफलमा असर पुगेको हो ?

पक्कै पनि । बैंकहरूबीचको प्रतिस्पर्धाकै जोखिम बढ्यो र त्यसको नतिजा बैंकको प्रतिफलमा देखिएको हो र विगतमा जस्तो गोल्डेन प्रतिफल तत्काल सम्भव पनि छैन ।  अब एक तहमा माथि आउनका लागि अर्थतन्त्रको म्याक्रो सूचकमा सुधार हुनु जरुरी छ । त्यसो हुनेबित्तिकै दुई तीन वर्षको तुलनामा जसरी आजका दिनमा जसरी एनपिए बढेको छ त्यो आगामी दिनमा चुनौती बन्ने देखिन्छ । हामीलाई यसैको व्यवस्थापनका लागि समस्या सिर्जना हुने अवस्था पनि छ । 


अर्को विषय अधिक प्रतिस्पर्धालाई कसरी व्यवस्थापन गर्ने हो भन्ने पनि चुनौतीपूर्ण छ ।  बैंकले लिन सक्ने जति शुल्क हो वा आम्दानीको स्रोत पनि कम छ । उदाहरणका लागि मैले सन् १९८६ मा बैंकिङ सुरु गर्दा उद्योगका लागि एलसी कमिसन ०.१२५ लगाउँथ्यौ भने ट्रेडिङका लागि ०.२५ लगाउँथ्यौ । त्यसमा क्यास मार्जिन पनि लिन्थ्यौँ । अहिले अधिक प्रतिस्पर्धाका कारण ०.०५ प्रतिशतसम्म पनि आइसकेको अवस्था छ । यस आधारमा हामीले बुझाउन नसकेको पनि हो । 

के यसरी आलोचना गर्नेहरू नाफाको आकारमा गए तर लगानीअनुसारको प्रतिफल कति हो भन्नेमा गएनन् भन्ने हो ?

पक्कै पनि बैंकको लगानी र प्रतिफल अध्ययन गरेर आलोचना गर्नेको पनि कमी छ । नबिल बैंकको कुरा गर्दा ६० अर्बको पुँजी भइसकेको छ । ६० अर्बको पुँजी लगाएर ६ अर्बको नाफा कमाउनु भएको १० प्रतिशत त नाफा हुनु हो । 

यस्तो अवस्थामा वर्षमा ६ अर्ब अर्थात् १० प्रतिशत मात्रै प्रतिफल पाउनु त सामान्य हो । सबैले बुझ्नुपर्ने कुरा हामीले जे जति आम्दानी गरेका छौँ, त्यो सबै देखिन्छ । उदाहरणका लागि लालबन्दीमा फलेको गोलभेँडा किसानसँग प्रतिकेजी १० रुपैयाँमा किनेर काठमाडौं ल्याउँदा ५० रुपैयाँ पर्छ र त्यसबीचमा ४० रुपैयाँ कसले कमायो भन्ने विषय बैंकको बुकमा भने देखिन्न । त्यसमा प्रश्न गर्ने कुनै मेकानिजम पनि छैन ।


 बैंकले अर्ब कमाए भन्नेतर्फ गए तर कति प्रतिशत हो, लगानीका आधारमा प्रतिफल कति हो भन्नेतर्फ कसैले सोचको पाइँदैन । अर्थतन्त्रमा असहज परिस्थितिमा कसैले कर्जा तिर्न सक्दैन भने त्यसको असर निक्षेपकर्तामा पर्छ । त्यसैले ऋणीलाई तारान्तर फोन जानु स्वाभाविक हो । ऋण उठेन भने हामीले पत्रिकामा नाम निकाल्नुपर्छ ।


 किनभने निक्षेपकर्ताको हितकै लागि हामीले काम गर्नुपर्ने हुन्छ । निक्षेपकर्ताको  हितलाई ध्यानमा राखेर रिकभरीका लागि एक्सनमा जाँदा फेरि बैंकलाई नै गाली गर्ने बानी छ । कतिपय सञ्चारमाध्यमले पनि व्यावसायिक नहुँदा पनि समस्या भएको हो । कसैले राम्रो गरेको देख्नेबित्तिकै नराम्रो देख्ने बानी छ । हामी नितान्त अनुशासित भएर व्यावसायिक रूपमा काम गरेका छौं । हामीसँग व्यावसायिक दायित्व पनि छ । सुशासन कायम राखेरै आएका छौं । सबैभन्दा बढी नियमन हुने क्षेत्र पनि भएको धेरै आक्रमण भएको हुनसक्छ ।  बैंकमा अर्बौं पटक कारोबार हुन्छ तर एउटा मात्रै कारोबार गलत हुनेबित्तिकै सबैलाई जनरलाइज गरेर गाली गर्ने अवस्था पनि छ ।


सिबिफिन लगानीकर्ताको संगठन रूपमा स्थापना भएको संस्था हो । यसलाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ?

हामी बैंकिङ  क्षेत्रलाई नितान्त अझ बढी अनुशासित र सुशासित ढंगले चलाउनका लागि हामी अगाडि बढ्छौं । अझ विश्वसनीय बनाउने प्रयास जारी नै राख्ने छौं । नकारात्मक कुरालाई प्रमाणसहित बुझाउने वा चिर्ने प्रयास पनि गर्ने नै छौं । केही समय अगाडि तरलताको समस्यालाई केही महिना लगाएर अध्ययन गर्दा बैंकिङ क्षेत्र पनि कारक छ है भन्नका हामीले कन्जुस्याइँ गरेनौं । अब बैंकको घट्दो नाफाको पनि कारण खोज्नुपर्ने अवस्था छ ।


 अब सुशासनका लागि सबै एकजुट भएर आन्तरिक रूपमा सुशासन कायमका लागि काम गर्नुपर्ने अवस्था पनि छ । पछिल्लो समय फिनटेकमा पनि बैंकहरूको खर्च बढिरहेको छ । एक अध्ययनअनुसार ४.७ ट्रिलियन डलर फिनकेट कम्पनीतर्फ गइरहेको अवस्था छ । यस्ता विषयमा पनि हामीले गरिरहेको अवस्था छ । बैंकर संघ भइसकेको अवस्थामा सिबिफिन किन चाहियो त भन्ने बहस पनि छ । तर  सीईओको भूमिका र लगानीकर्ताको भूमिका फरक हुन्छ । सीईओको भूमिका बैंक सञ्चालनमा बढी हुन्छ भने अध्यक्षका रूपमा नीतितर्फ, सुशासनका क्षेत्रमा कसरी अगाडि बढ्न सक्छौं त भन्ने विषय पनि हो । 



Pages