काभ्रेका तीन गाउँपालिकामा खरको छानो हटाएर जस्तापाता लगाउन १ करोड १७ लाख निकासा - Lagani News

Post Top Ad

Sunday, February 4, 2024

काभ्रेका तीन गाउँपालिकामा खरको छानो हटाएर जस्तापाता लगाउन १ करोड १७ लाख निकासा


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दुर्गम मानिएका तीन गाउँपालिकामा  सरकारको विशेष अनुदानमा स्थानीय घरका खरको छानो हटाएर जस्तापाता हालिने भएको छ । उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ । 


सरकारको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको तीन स्थानीय तहमा रहेका खरका छानो हटाएर जस्तापाताको छानो हालिने जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । कार्यक्रमअन्तर्गत यस वर्ष जिल्लाको तेमाल गाउँपालिकामा ८७ घरधुरी, खानीखोला गाउँपालिकाका ५७ र चौरीदेउराली गाउँपालिकाका ५२ घरधुरीमा रहेको खरको छानो हटाइने कार्यालयका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले जानकारी दिए । 


उनका अनुसार कार्यालयको कार्यक्षेत्रअन्तर्गत  काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेका स्थानीय तहलाई पत्राचार गरी आफ्नो तहमा रहेका खरको छानो भएका घरधुरीको तथ्याङ्क माग गरिएको थियो । तथ्याङ्क मागिएका अन्य दुई जिल्लाबाट उक्त विवरण आएन । 


काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये तीन गाउँपालिकाबाट मात्रै खरको छानो भएको घर परिवारको तथ्याङ्क प्राप्त भएअनुसार खरको छानो भएका बाँकी घरमा जस्तापाताले छाउन लागिएको हो । सरकारको विशेष अनुदानअन्तर्गत खरको छानो भएका घरधनीले जस्तापाताको छानो हालेबापत ६० हजार रुपैयाँ नगद उपलब्ध गराइने छ । सङ्कलित तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा खरको छानो हटाउन हाल १ करोड १७ लाख ६० हजार रुपैयाँ बजेट निकासा भएको छ । 


Pages